१५ हजार तिरे एकै दिनमै एमआरपी (प्रकाशित: असार १९, २०७३)





राहदानी विभागले पूर्ववर्ती घोषणाअनुसार थप शुल्क तिरेमा एकै दिनमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउन थालेको छ । आइतबार केही आवेदकहरूलाई १५ मिनेटमा नै राहदानी उपलब्ध गराउँदै विभागले यो सेवा आरम्भ गरेको हो । आफूले प्रदान गर्दै आएको सेवा विभिन्न चरणमा सुधार गर्दै आएको विभागले यस्ता सबै सेवाको उद्घाटन गर्ने अनौठो चलन पनि चलाएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले द्रुत राहदानी सेवाको उद्‍घाटन गरे । चार महिनाअघि उनले प्रत्यक्ष दर्ता प्रणालीको पनि उद्घाटन गरेका थिए । चार महिनाअघि उनले उद्घाटन गरेको सेवा नै अहिले उपयोगमा आएको हो । राहदानी सेवा सर्वसाधारणसँग प्रत्यक्ष जोडिने भएकाले मन्त्रीले एकै प्रयोजनका कार्यको दुईपटक उद्घाटन गरेको अनुमान मन्त्रालयका एक अधिकारीले लगाए ।
६ वर्षअघि एमआरपी निर्माण एवं वितरण थालिएको सन्दर्भमा आइतबारदेखि सुरु भएको प्रत्यक्ष दर्ता प्रणाली राहदानी वितरणको इतिहासमा कोसेढुंगा भएको मन्त्री थापाले बताए ।

नियोगमा पनि प्रत्यक्ष दर्ता प्रणाली आरम्भ भएको भन्दै उनले यस्तो सेवा जिल्लाबाट पनि छिट्टै आरम्भ हुने बताए । आवेदन दिएकै दिन एमआरपी उपलब्ध गराउने प्रक्रिया सुरु भए पनि बसाइँ सरेका र कामको सिलसिलामा काठमाडौंमा रहेकाले भने अझै जिल्ला जानुपर्ने झन्झटबाट मुक्ति पाउने छैनन् ।

१५ हजार रुपैयाँ राजस्व बुझाउनेले एकै दिनमा राहदानी पाउनुलाई प्रशंसनीय भन्दै परराष्ट्रका एक सहसचिव भन्छन्, ‘त्योभन्दा खाँचोको विषयचाहिँ विभागमै एउटा सेल राखेर शंका लागेका व्यक्तिको नागरिकताबारे जिल्लामा आफैंले बुझेर जिल्ला जानु नपर्ने व्यवस्था गर्नुपर्छ ।’ जिल्ला नै जानुपर्ने भएपछि एकै दिनमा सेवा दिनुलाई खासै ठूलो उपलब्धि मान्न नसकिने उनको भनाइ छ ।

एक थरी भने सम्पत्ति खरिद गर्दा प्रमाणित गर्नुपर्ने नागरिकता राहदानी लिँदा किन नागरिकता लिएकै जिल्लाबाट प्रमाणित गराउनुपर्ने भन्ने पनि प्रश्न गर्छन् । पहिले राहदानी बनाइसकेकाले पनि एमआरपी बनाउँदा नागरिकता बनाएको जिल्लाबाटै प्रमाण ल्याउनुपर्छ । तर विदेशमा रहेको नेपालीहरूले भने नागरिकता बुझाएकै भरमा राहदानी पाउँछन्, प्रमाणित गर्नुपर्दैन ।

द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले १५ हजार तिरेर एकै दिनमा राहदानी बनाउन सक्नेछन् । भोलिपल्ट राहदानी लिन १२ हजार र तीन दिनका लागि १० हजार राजस्व बुझाउनुपर्नेछ । साधारण प्रक्रियाका लागि ५ हजारमा जिल्लाबाट नै एमआरपी पाइनेछ । १० वर्ष ननाघेका बालबालिकालाई भने सबै सेवामा पचास प्रतिशतमात्र राजस्व लाग्नेछ ।

प्रत्यक्ष दर्ता प्रणालीअन्तर्गत सेवाग्राहीले 'डब्लूडब्लूडब्लू डट नेपालपासपोर्ट डट जीओभी डट एनपी'मा ‘लगइन’ गरी आफ्नो विवरण कम्प्युटरमा स्वयं भर्न सक्नेछन् । उक्त विवरण विभागमा पठाइएको २१ दिनभित्र सेवाग्राही रुजु गर्न नगएमा उक्त पद्धतिबाट विवरण स्वत: हट्नेछ ।

विद्युतीय हाजिरी मेसिन जडान(२० असार )

फलेवास  पर्वतका सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्न थालिएको छ ।
कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले धौलागिरि अञ्चलमै पहिलोपटक पर्वतका सरकारी कार्यालयमा मेसिन जडान गर्न लागिएको हो । मेसिन जडान कार्य आइतबार जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको छ । कार्यालयमा जडान गरिएको मेसिनमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले हाजिर गरेर उद्घाटन गर्नुभयो ।
सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था हुँदा जिल्लामा कीर्ते हाजिरी गर्नेको अन्त्य हुने र अनुगमन कार्यमा पनि सहजता हुने भएको छ । दैनिक हाजिरी रजिस्टरमा हाजिर गर्दा कर्मचारी कुनबेला कार्यालयमा आए र गए त्यसको बारेमा सही जानकारी हुन नसक्ने कार्यालयमा पूरै समय समेत नबस्ने गरेको अवस्थामा विद्युतीय माध्यमबाट हाजिर गर्दा कुन बेला आए र कुन बेला गए भन्ने बारेमा समेत जानाकारी लिन सकिने प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिनुभयो ।
उक्त विद्युतीय हाजिरी मेसिन जडान कार्य सदरमुकाममा रहेका सबै सरकारी कार्यालयमा विस्तार हुने भएको छ । खासगरी नागरिकको बढी चाप हुने कार्यालयमा पहिलो चरणमा र अन्य कार्यालयमा दोस्रो चरणमा मेसिन जडान गरिने बताइएको छ ।

0 comments:

Post a Comment